संघीय सरकारले प्रदेशको आन्तरिक मामिला गृहमन्त्रालयलाई भन्दा प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिने गरी ऐनको मस्यौदा

संघीय सरकारले प्रदेशको आन्तरिक मामिला गृहमन्त्रालयलाई भन्दा प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिने गरी ऐनको मस्यौदा गरेको छ ।संघीय संसदमा छलफल हुने तयारीमा रहेको आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बिनेको विधेयकले शान्ति सुरक्षासम्बन्धी कार्य गर्ने कार्यकारी अधिकारी सीडीओमा निहित गरेको छ ।मन्त्रिपरिषदबाट पारित भई संसदमा दर्ता गर्ने तयारीमा रहेको विधेयकमा ७७ वटै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी भई काम गर्ने उल्लेख छ । अदालत र रक्षासम्बन्धी कार्यालय बाहेक जिल्लास्थित सबै कार्यलयका प्रमुखहरु सीडीओको मातहतमा रहने पुरानै प्रावधान यथावत राखिएको छ ।प्रमुख जिल्ला अधिकारीले नेपाल सरकार र प्रदेश सरकारको नीति, निर्देशन र समन्वयमा रही काम गर्ने विधेयकमा व्यवस्था गरिएको छ । तर, नेपाल सरकारको प्रतिनिधिले अन्तिम आदेश भने संघीय गृहमन्त्रालयकै पालना गर्नेछ ।यद्यपि विधेयकमा जिल्लाभित्रको शान्ति सुरक्षामा मामिलामा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा रही काम गर्ने भनिएको छ ।जिल्ला प्रशासन कार्यालयका सीडीओ मात्र होइन, सबै कर्मचारी संघीय निजामती सेवाबाटै खटाइने व्यवस्था गरिँदैछ । तर विशेष अवस्थामा प्रदेश निजमति सेवा र स्थानीय सेवाका कर्मचारीलाई पनि कामकाज लगाउन सकिने व्यवस्था गरिएको एक मन्त्रीले बताए । विशेष अवस्था भन्नाले निर्वाचन र दैवी विपत्तिको बेला मानिएको हो ।जिल्ला प्रशासन कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाह सम्बन्धी कामको लागि नेपाल सरकारले आवश्यकता अनुसार इलाका प्रशासन कार्यालय, सीमा प्रशासनको कार्यालय स्थापना गर्न सक्ने व्यवस्थासमेत बिधेयकमा गरिएको छ । गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सीडीओ लाई केन्द्र र प्रदेश सरकारको निर्देशनमा काम गर्ने बलियो संयन्त्र बनाउन खोजिएको हो ।हालै सम्पन्न अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको निर्देशनमा चल्ने गरी उसैको मातहतमा राख्नुपर्ने सुझाव दिएका थिए । सीडीओ लाई केन्द्र सरकारको प्रतिनिधिका रुपमा राख्दा उसले प्रदेश सरकारको निर्देशन नमान्ने अवस्था रहेको उनीहरुको भनाइ थियो ।

प्रतिकृया दिनुहोस