मुलुकमा भएका जल सम्पदा, भूमि, वन, जडिबुटी र जनशक्तिको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भएका जल सम्पदा, भूमि, वन, जडिबुटी र जनशक्तिको सदुपयोग गर्न उच्च शिक्षाको महत्वपूर्ण योगदान रहने बताएकी छिन् । पूर्वाञ्चल विश्वविद्यालयको २५औं वार्षिकोत्सव तथा रजत महोत्सव उद्घाटन समारोहलाई विराटनगरमा बिहीबार सम्बोधन गर्दै भण्डारीले विश्वविद्यालयले राष्ट्रलाई सम्मान गर्न सक्ने क्षमतावान र अनुशासित नागरिकको उत्पादन गर्नुपर्नेमा जोड दिएकी हुन् । राष्ट्रपति भण्डारीले भनिन ,‘समृद्ध नेपाल तथा सुखी नेपालीको जनआकांक्षा साकार पार्न सबैको योगदान आवश्यक हुने र त्यसका लागि विश्वविद्यालयको भूमिका अहंम रहने छ । शिक्षा विकासको पूर्वाधार भएको बताएकी राष्ट्रपति भण्डारीले यसलाई आत्मसात गर्दै विश्वविद्यालय गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा जोडदिनुपर्ने बताइन् ।  मुलुकमा बेरोजगारी, युवामा विदेशिने चाह र स्वदेशमा दक्ष जनशक्तिको अभाव खड्किरहेको बताएकी राष्ट्रपति भण्डारीले मुलुकको उत्पादन पद्धति र शिक्षा प्रणालीबीच मेल खान नसक्दा त्यस्तो परिणम मुलुकले ब्येहोर्नु परेको हुनसक्नेतर्फ संकेत गरेकी छिन् ।  शैक्षिक क्षेत्रलाई साधन स्रोत सम्पन्न बनाउनमा जोड दिएकी राष्ट्रपति भण्डारीले उद्योग कलकारखाना तथा कृषि उत्पादकत्वको अवस्था कमजोर हुँदै गर्दा मुलुकमा व्यापार घाटा बढ्दो रहेको बताइन्। तथापि, प्राकृतिक स्रोतसाधन, अन्नभण्डार तथा चिया अलैँची दूधजन्य पदार्थमा पूर्वाञ्चल क्षेत्र अग्रस्थानमा रहेको प्रस्टाइन ।  कार्यक्रममा स्थापनाकालदेखि विश्वविद्यालयमा सहयोग पुर्‍याउने पाँच जनालाई विश्वविद्यालयले अभिनन्दन गरेको छ । सो क्रममा राष्ट्रपति भण्डारीले विश्वविद्यालयका प्रथम सेवा आयोगका अध्यक्ष कृष्णप्रसाद पोखरेल, विश्वविद्यालयका प्रथम उपकुलपति ध्रुवनारायणलाल श्रेष्ठ, विश्वविद्यालयका द्वितीय उपकुलपति तोरणबहादुर कार्की, विराटनगरका पूर्वमेयर अशोक कोइराला तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।  कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश नम्बर एकका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दास, बिराटनगर महानगरका मेयर भीम पराजुलीको उपस्थिति रहेको थियो । यसैबीच, राष्ट्रपति भण्डारीलाई विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अभिनन्दन गरिएको छ । भण्डारीले २०३९ सालदेखि २०४१ सालसम्म क्याम्पसमा मानविकी संकाय अन्तरगत स्नातक तहको अध्ययन गरेकी थिइन । अध्ययनका क्रममा २०४० साल वैशाखमा सम्पन्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी कोषाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।  पूर्व विद्यार्थी भएको र हाल देशको सर्वोच पदको नेतृत्व गर्न सफल भण्डारीलाई अभिनन्दन गरिएको क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस