राखेपको विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने

राष्ट्रिय खेलकूद परिषद् राखेपको विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको क्यान विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष सन् २०१७ र २०१८ को खेलाडीले वर्र्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताए  । हामीले आइसिसीसँग पहल ग¥यौँ, ऊ पनि पैसा दिन सहमत भयो, अहिले हामीले खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका छौँ, वर्गीकरणभित्र परेका खेलाडीले केही साताभित्र तलब बापतको पैसा पाउनेछन् , उनले भने ।  विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्  । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ । तलबका विषयमा आइसिसीले राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।
खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो।
 

प्रतिकृया दिनुहोस