सरुवा बदरको माग गर्दै सञ्जेलले लेखे लालबाबुलाई पत्र

आफ्नो सरुवाको विरुद्ध कडा अभिव्यक्ति दिएका कारण सामाजिक सञ्जालमा भाइरल बनेका नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् ।निर्वाचन कार्यालय मोरङबाट श्रम कार्यालय विराटनगरमा सरुवा भएको दुई महिना बित्न नपाउँदै व्यवसायिक सीप विकास तालिम प्रतिष्ठान इटहरी सरुवा गरिएपछि उपसचिव सञ्जेलले मन्त्री पण्डितलाई ऐनविपरीत भएको सरुवा बदर गरिदिन अनुरोधसहित निवेदन लेखेका हुन् ।निवेदनमा निजामती सेवा ऐन २०४९ को विपरीत आफ्नो सरुवा भएकाले यथास्थानमा काम गर्ने गरी खटाउन अनुरोध गरिएको छ । सरुवा ६ वटा कारणले कानूनसम्मत नभएकाले बदर गरी साविककै कार्यालयमा काम गर्ने गरी खटाउन उनले आग्रह गरेका छन् ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव स्तरको निर्णयबाट पुस ५ गते सञ्जेलको सरुवा गरेको थियो । सरुवाको निर्णय सरकारले नै बदर गर्ने विश्वाससहित मन्त्रीलाई निवेदन लेखेको सञ्जेलले बताएका छन् ।सञ्जेलले हुलाक मार्फत पत्र पठाएको जानकारी दिए । सरकारले सरुवा बदर नगरे अदालत जाने उनले बताए ।श्रम कार्यालयमा सरुवा भएर आएलगत्तै सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्यवन गर्न लागेका सञ्जेलले भ्रष्टचार विरोधी गतिविधि गरेकै कारण आफ्नो सरुवा भएको बताएका थिए ।
 

प्रतिकृया दिनुहोस