‘बी’ र ‘सी’ डिभिजनमा पनि रेलिगेसन नहुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगजस्तै ‘बी’ र ‘सी’ डिभिजनमा पनि रेलिगेसनको प्रावधान लागु नगर्ने भएको छ । शीर्ष डिभिजनको लिगमा रेलिगेसनको प्रावधान हटाउँदा फुटबलको मर्ममा प्रहार गरेको भन्दै चर्को आलोचना बेहोरेको एन्फाले तल्ला डिभिजनमा पनि गल्ती सुधार्न सकेन ।

 

तथापि आलोचकलाई जवाफ दिन ए डिभिजनमा जस्तै ‘बी’ र ‘सी’ मा पनि पुछारमा रहने टोलीको अंक अर्को लिगमा खोस्ने र केही रकम तयारी खर्चबाट घटाउने तयारीमा रहेको एन्फा स्रोतले जानकारी गराएको छ । रेलिगेसनको प्रावधान हटेपछि क्लबलाई घटुवा हुनुपर्ने चिन्ता रहने छैन् । माघ २५ गतेबाट हुने गरी बि डिभिजनको तालिका सार्बजनिक भइसकेको छ । सार्बजनिक तालिका अनुसार समूह ए मा ६ र समूह बि मा ६ क्लब छन् ।

 

लिगकम नकआउट आधारमा संचालन हुने लिगको बिजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै उपविजेताले ५ लाख पाउनेछ भने तेस्रो र चौथो हुने टोलीले क्रमशः ३ लाख र २ लाख पुरस्कार पाउनेछन् । तयारी स्वरुप प्रत्येक क्लबले ७ लाख रुपैयाँ पाउनेछन् । प्रत्येक खेल जितेबापत २० हजार र बराबरी भए साढे ७ हजार पाउने बि डिभिजन क्लब संयोजक मनिष जोसीले जानकारी दिए । उनका अनुसार पुछारमा रहने दुइ टोलीको ३ –३ अंक अर्को लिगमा घटाइनेछ भने ५० –५० हजार तयारी रकममा काटिनेछ । 

 

फागुन २२ गतेबाट सुरु हुने सि डिभिजन लिगमा पनि रेलिगेसनको प्रावधान लागु हुने छैन् । दुई समूहको पुछारमा रहने टोलीले १–१ अंक घट्नेछ भने तयारी खर्चबाट ५० हजार घटाइने सि डिभिजन क्लब संयोजक दावा लामाले जानकारी दिए । उनका अनुसार बिजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै दोस्रो हुने टोलीले ३ लाख पुरस्कार र तेस्रो हुने टोली र चौथो हुने टोलीले १ लाख पुरस्कार पाउनेछन् । प्रत्येक क्लबले ४ लाख तयारी खर्च पाउनेछन् । प्रत्येक खेल जितेबापत २० हजार र बराबरी साढे सात हजार पाउने संयोजक लामाले जानकारी दिए । लिगका लागि ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

यसै वर्ष वैशाखमा भएको निर्वाचनमा आफूलाई मत दिए लिगमा कुनै पनि टिम नझार्ने वाचा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वले गरेका कारण शीर्ष डिभिजनमा रेलिगेसनको प्रावधान हटाइएको बताइएको थियो । ‘बी’ र ‘सी’ डिभिजनमा पनि क्लबहरुले शीर्ष डिभिजनकै जस्तो हुनुपर्ने अडान राखेका कारण एन्फाले यो वर्षलाई सबै श्रेणीमा रेलिगेसनको प्रावधान राख्न नसकेको एन्फाका एक पदाधिकारीले बताए ।

प्रतिकृया दिनुहोस