गुमनाम लोक गायिका विष्णु माझी स्याङ्जा प्रहरीमा

स्याङ्जा । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा पुगेकी छन् । स्याङजाका प्रमुख राजकुमार लम्सालको सक्रियतामा विष्णु दम्पती जिल्ला प्रहरी आइपुगेका हुन् 

 

मिडियामा विष्णु गुमनाम भएको बारे अनेकौ रिपोर्ट सार्वजनिक भएपछि प्रहरीले माझीका बारेमा चासो दिदै उनलाई बोलाएको हो ।

 

आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सीमा पुगेका माझी र उनका श्रीमान अधिकारीले जिल्ला प्रहरी कार्यालयमा पुगेर छलफल समेत गरेका छन् ।विष्णु रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा र कालो माक्स लगाएर प्रहरी कार्यालय पुगेकी थिइन् ।

 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि प्रहरीको सक्रियतामा उनीहरु जिल्ला प्रहरी आइपुगेका हुन् । विष्णु र सुन्दरमणि आएसँगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि प्रहरी कार्यालयमा पुगेका थिए । 

 

विष्णुसहित उनका पति सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ एसपी र प्रमुख प्रशासकीय अधिकृत र राष्ट्रिय अनुसन्धान प्रमुखसहितले छलफल गरेका थिए । 

 

‘विष्णुले आफू कम पढेको हुँदा बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको जिकिर गरिन्, साथै छलफलका क्रममा विष्णु र सुन्दरमणिले यस विषयमा मिडियालाई जवाफ दिन आवश्यक नभएको अभिव्यक्ति पनि दिए,’ एसपी लम्सालले भने ।

 

विष्णुले छलफलका बेला पनि मुखबाट मास्क नहटाएपछि प्रहरी प्रमुख लम्सालले मास्क र पछ्यौरा हटाउन लगाएको बताए । उनका अनुसार गायिका माझीको अनुहारमा कुनै चोट र खत थिएनन् । माझी र अधिकारीले पत्रकारसँग बोल्न नमानेको र कसैले केही सोध्दा वा फोटो खिच्न खोज्दा सुन्दरमणि अघिअघि र विष्णु पछिपछि दौडिएको प्रहरी प्रमुख लम्सालले बताए ।

 

त्यहाँ आउनुअघि नै उनीहरुले मिडियासँग कुरा नगर्ने बताएकाले मिडियालाई भने छलफलमा सहभागी गराइएको थिएन। 

 

छलफलका क्रममा विष्णु सामान्य लेखपढ गर्न मात्र जान्ने भएकाले मिडियालाई फेस गर्न नसक्ने भन्दै बाहिर अहिलेसम्म नआएको छलफलमा उनका पतिले बताएका छन् । विष्णुले भने आफूले धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। 

 

सुन्दरमणिसँग बिहेपछि गुमनाम जस्तै रहेकी विष्णुको ११ वर्षपछि आफ्ना बाबुसँग भेट भएको छ । ताराबहादुरले सानै उमेरमा छोरी काठमाडौँ गएपछि घर नआउने र आफू पनि काठमाडौँ जान नसक्ने हुँदा भेट नभएको बताएका थिए ।

प्रतिकृया दिनुहोस