कठघरामा सञ्चारमन्त्री : भाडाकाे घर खाेज्दै जाँदा प्रधानमन्त्री ओलीकै भेटियो

अभियोग १ : दुई दशकभन्दा लामो समय पत्रकारिता गर्नुभयो । पत्रकारितामार्फत नै राजनीतिक उचाइ लिनुभयो । तर, मन्त्री भएपछि आफ्नो विगत बिर्सँदै सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनमा पत्रकारकै हुर्मत लिनुहुन्छ । 

मैले जीवन बिर्सने कुरा हुँदैन, विरासत बिर्सने कुरा हुँदैन । तपाईंले उठाएको कुरा ठीकै हो, तर पनि एउटा तथ्य स्मरण गराउन चाहन्छु । म पहिला राजनीतिमै थिएँ, पछि मैले पत्रकारिता र राजनीति सँगसँगै थालेँ । मैले दृष्टिकोणसहितको पत्रकारिता गरेँ, अहिले र उहिलेको भिन्नता त्यही थियो । त्यस हिसाबले हिजो पत्रकारिता क्षेत्रमा हुँदा पनि मैले कयौँ विषयहरूमा आफ्ना मान्यताहरू कायम गरेको छु । र, अहिले मन्त्री हुँदा पनि मैले त्यो मानक कायमै राखेको छु भन्ने मलाई लाग्छ । मैले पत्रकारहरूको हुर्मत लिएको होइन । मैले त खाली केही विषयवस्तुको दृष्टान्त दिँदै तथ्यमा टेक्न अनुरोध मात्रै गरेको हो । धेरै साथीहरूले मेरो आलोचना गर्ने विषय भनेको ‘पत्रकारहरूसँग सिधासिधी प्रस्तुत भयो’ भन्ने हो । पत्रकारिताको एउटा खास विशेषता नै सिधासिधी हो । र, मेरो विरासतको एउटा उपहार वा लिगेसीचाहिँ के आयो भने मन्त्री भएर पनि मैले पत्रकारिताको सिधासिधी र प्रस्ट तथ्यमा उभिएर बोल्ने विशेषता छाडेको छैन, यसमा त पत्रकार साथीहरूले पनि गर्व गर्नुपर्ने हो । 

मैले उठाएका केही कुराहरू छन्–जस्तो मिडिया आलोचक हुनुपर्छ, आरोपकर्ता होइन । मिडिया समाजको ऐना र पथप्रदर्शक बन्नुपर्छ, पुर्वाग्रही होइन । मिडियाले तथ्य पस्किनुपर्छ, सबैलाई भ्रममुक्त गर्नुपर्छ, ताकि समाज निर्माणमा चौथो अंगका रूपमा मिडिया स्थापित भएका कारण राज्यको विकासमा उसको पनि दायित्व हुन्छ । मिडिया कसैको समर्थक वा कसैको विरोधी हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन, बोलेको पनि छैन । हो, मैले कसैको समर्थनमा सम्पादकहरूको टिम नै गएर वक्तव्यबाजी गरेको कुरामा मैले टिप्पणी गरेको हो । त्यो पत्रकारिताको इथिक्सभित्र पर्दैन । विषयवस्तुका बारेमा विभिन्न मिडिया हाउसको, सम्पादकको वा सम्पादकीय टिमको आफ्नै बुझाइ वा दृष्टिकोण हुन सक्दछ, तर कुनै संगठनले ज्ञापनपत्र बुझाउन जानेजस्तो सामूहिक रूपमा हस्ताक्षर गरेर हिंड्नुचाहिँ राम्रो होइन भन्ने कुरा मैले गरेको हो । 

अभियोग २ : सञ्चारमन्त्रीको हैसियतमा श्रमजीवी पत्रकार ऐन प्रभावकारी रूपमा कार्यान्वयन गराउनुको सट्टा दसैँको मुखमा संसदीय समितिको बैठकमा पत्रकारहरूलाई ‘दसैँखर्च लिन आए हुन्छ’ भनेर उल्टै अपमानित गर्नुभयो ।

यसमा बुझाइको भिन्नता रह्यो । रिपोर्टिङ गर्ने साथीहरूले के बुझ्नुभयो कुन्नि ? त्यसमा मेरो दोष छ जस्तो मलाई लाग्दैन । त्यहाँ माननीयहरूले केही विषयवस्तु उठाउनुभएको थियो । कुनै प्रसंगलाई लिएर उहाँहरूले ‘पत्रिकाका हेडलाइनमा, भिडियोमा र अडियोमा करोडौँकरोड चलखेल भएका कुराहरू पनि आएका छन्’ भनेर विषय उठाउनुभएको थियो । त्यसमा मैले ‘म कुनै चलखेलवादी मान्छे होइन, एउटा साधारण पृष्ठभूमिबाट आएको किसानको छोरो हुँ । कसैको पनि कात्रोमा खल्ती हुँदैन भन्ने कुरा मलाई राम्ररी थाहा छ । र, मलाई अकुत सम्पत्तिको लोभ पनि छैन्’ भनेको थिएँ । फेरि पनि यसले नचाहिँदो काम गर्‍यो, करोडौँ कुम्ल्यायो भन्ने कसैलाई लाग्छ भने त्यो हेर्ने चस्मा र सोच्ने दिमागलाई के भन्न सक्थें ? मैले भनेँ, ‘तपाईंहरूलाई खायो कि खायो भन्ने लाग्छ भने मेरो सात पुस्ता छानबिन गर्नुस् । मेरा नातागोता, इष्टमित्र, साथीभाइ सबैको छानबिन गर्नुस्, ब्युरोक्रेसीसँग बुझ्नुस्, भेन्डरहरूसँग बुझ्नुस्, जासुसी संयन्त्रसँग बुझ्नुस् । र, कहीँकतैबाट सुका सातआना लोभ गरेको वा लिएको पाउनुभयो भने कसैले सजाय दिनै पर्दैन, म आफैँ टुँडिखेलमा गएर फाँसीको फन्दामा उभिन तयार छु । त्यति मर्यादा म राख्छु’ भनें । 

त्यसपछि पनि भन्याभन्यै गरेपछि, गोयबल्स शैलीमा आरोपित गरिरहेपछि म पनि त एउटा मान्छे हुँ । त्यहाँ केही साथीहरूले ‘मन्त्रीले चाहिँ बोल्नुहुँदैन’ भने । मैले भनेँ, ‘मन्त्रीलाई डेमोक्रेसी छ कि छैन ? मैले राजनीतिलाई पवित्र सेवा ठानेको छु, व्यापार ठानेको छैन । मेरो मान्यता त्यो हो । फेरि पनि यसले खायो, लुट्यो, देश खान लाग्यो भन्ने क–कस्लाई लाग्छ आउनुस्, दसैँ आएको छ कसलाई कति चाहिन्छ, म दिइदिन्छु नि त भनेर चुनौती दिएको हुँ । यो कुरा मैले पत्रकारहरूलाई भनेको होइन । यसको बुझाइमै गलत रह्यो, रिपोर्टिङमा पनि गलत रह्यो । मैले पत्रकारहरूलाई लकारेको होइन । मैले के बोलेको थिएँ भनेर भिडियो नै उपलब्ध गराउन सक्छु । २० मिनेट बोलेको कुरालाई ३ मिनेटको क्लिप कटिङ गरेर मेरो हुर्मत लिएपछि मैले आलोचना पनि गर्न नपाउने त ?

श्रमजीवीको पक्षमा काम भएन भन्ने आरोपमा पनि सत्यता छैन । न्यूनतम पारिश्रमिक तीन वर्षदेखि बढेको थिएन, अहिले २५ प्रतिशत वृद्धि गरिएको छ । अब त्यसलाई जुनसुकै हिसाबले पनि लागू गराएर छाडिन्छ । म मन्त्री हुनुभन्दा अगाडि यो देशमा पत्रकारहरूका लागि कुनै कोष थियो ? अहिले तीन करोडको कोष बनेको छ । र, यसै वर्षभित्र त्यो पाँच करोडको हुँदै छ । मिडिया काउन्सिलको कानुन बन्दै छ । पिएसबीमा जाँदै छ । सातवटै प्रदेशमा सञ्चारग्राम बनाउन बजेट छुट्याइएको छ । नेपाली पत्रकारिता क्षेत्रले बारम्बार उठाएको समानुपातिक विज्ञापन र क्लिन फिडका निम्ति कानुनको मस्यौदा मन्त्रिपरिषद्ले पास गरिसकेको छ । अब संसद्मा दर्ता हुन्छ । योचाहिँ पत्रकारहरूको हितमा छैन ? अनि, मैले पत्रकारको खोइरो कहाँनिर खनेँ ? उनीहरूकै हितमा काम गर्दै छु । पत्रकारकै सुरक्षा र न्यायका लागि काम गर्दै छु । मैले पत्रकार र पत्रकारिता क्षेत्रको हक हितविरुद्धमा के अपराध गरेँ ? तथ्यमा उभिएर बताइदिनुस् भन्ने मात्रै मेरो माग हो । फैसला त तपाईंहरू गर्नुस् न ।

अभियोग ३ : आफ्नो आलोचना र प्रतिकूल समाचार तपाईं देख्न र सुन्नै सक्नुहुन्न । त्यही झोकमा मिडिया हाउसहरू ‘फेक न्युज प्रोडक्सन हाउस’ बनेको आरोप लगाउनुभयो ।

मैले सबै मिडिया हाउसहरूलाई त्यस्तो भनेको छैन । ‘केही’ भन्ने शब्द त्यसको अगाडि प्रयोग गरेको छु । ‘केही मिडिया हाउस’ भन्नु र मिडिया हाउस’ भन्नुमा त फरक हुन्छ होला नि । निर्मला प्रकरणको विषयमा बारम्बार ममाथि एउटा आरोप लगाइयो कि समाचार नदिनु भनेर निर्देशन दियो भनेर । अन्तर्राष्ट्रिय रूपमा पनि मेरो इमेज समाप्त पार्न अंग्रेजीमा पनि लेख्यो । त्यसको पुष्टिचाहिँ गर्नुपर्दैन ? यसकारण मैले भनेको हुँ ‘केही मिडिया हाउस फेक न्युज प्रोडक्सन हाउस’ बने भनेर । तथ्यमा उभिएरै त्यस्तो भनेको हुँ । कि त्यो आरोप पुष्टि गरेर मलाई सजाय दिनुपर्‍यो, होइन भने बेलुका सुत्दा जेजे सपना देखिन्छ, भोलिपल्ट त्यही त्यही आरोप लेखेर अर्काको बदख्वाईँ गर्नुभएन भन्ने मेरो कुरा हो । मिडिया तथ्यमा टेकेर आलोचक बनोस्, फहरेबमा होइन । मिसनकारिता होइन, पत्रकारिता गर्नुपर्‍यो भनेको हुँ । 

तपाईंले भनेजस्तो विरुद्धका समाचार नै देख्न नसक्ने म होइन । पत्रिकाहरू पढ्छु, टिभी, रेडियो हेर्छु/सुन्छु । मैले नै कतिका विरुद्ध समाचार लेखेको छु, अनि, मेरा विरुद्ध लेख्यो भनेर देख्नै नसक्ने हुँला र ? मेरा विरुद्ध जति लेखे पनि हुन्छ । तर, तथ्यमा आधारित हुनुपर्‍यो । करेक्सन गर्ने उद्देश्यले लेख्नुपर्‍यो । हुँदै नभएको पुलिन्दा भरेर ‘क्याफेकारिता’ चाहिँ गर्नुभएन भनेर मैले भन्या हो । रेस्लिङ स्टाइलमा हुने कुराचाहिँ नगरिदिए हुन्छ मिडियाले, मिडियाको विश्वसनीयता बढोस् भनेरै मैले यो कुरा गरेको हुँ । मैले मिडियाप्रति, पत्रकारिता क्षेत्रप्रति वितृष्णा वा मानमर्दन गर्न खोजेको अथवा आलोचना सुन्न नचाहेको होइन । यदि कुनै मिडिया हाउसले आफूलाई सार्वजनिक माध्यम भन्छ भने प्रधानमन्त्री र मन्त्रीहरूप्रति नहोला, तर देश र जनताप्रति त त्यसको पनि दायित्व होला नि । मैले भन्न खोजेको कुरा यति मात्रै हो । यहीभन्दा पनि साथीहरूको धेरै चित्तै दुखेको छ भने मैले सहुँला, बुझौँला ।


अभियोग ४ : आर्थिक चलखेलका आधारमा राजनीतिक नियुक्ति गरेको आरोप पनि तपाईंमाथि लाग्यो । विवादास्पद छविका दिगम्बर झालाई सुरुमा दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट हटाउने निर्णय गर्नुभयो । कुरा मिलेपछि फेरि उनैलाई पुनः नियुक्त गर्नुभयो । त्यसको पार्टीभित्रै चर्को आलोचना भएपछि अहिले राजीनामा दिन बाध्य पार्नुभयो । 

मैले अघि पनि भनेँ कि म चलखेलकारी मान्छे होइन । भोलि पनि म तपाईंहरूसँगै सडकमा हुनेछु । जहाँसम्म दिगम्बर झाको कुरा छ देउवा सरकारले चुनावको घोषणापछि गरेका राजनीतिक नियुक्ति मन्त्रिपरिषद्ले एकमुष्ट खारेज गर्दा उनी पनि हटेका हुन् । मैले कुनै अतिरिक्त आरोप लगाएर उनलाई हटाएको होइन । यो हो तथ्य । दिगम्बर झालाई विवादास्पद भन्न पनि कहीँ त केही हुनुपर्‍यो । कि त हामीले आरोपित गरेको हुनुपर्‍यो । त्यो केही छैन । सरकारले अहिले नेपाललाई डिजिटलाइज गर्ने लक्ष्य लिएको छ । त्यसका लागि महत्वपूर्ण ठाउँ नेपाल टेलिकम हो । त्यो ठाउँलाई कसरी सुधार गर्न सकिन्छ, कमीकमजोरी के छन्, नयाँ कुरा के गर्न सकिन्छ भनेर हामीले छानबिन तथा सुझाब समिति बनाएका हौँ । त्यसका सुझाबहरूका आधारमा हामीले यो यो सुधारहरू गर्नु भनेर लेखेर पठाइदिएका छौँ । अब विवादास्पद कसैलाई लागेर हुन्छ कि तथ्य प्रमाणका आधारमा हुन्छ ? 

५० जना मान्छे अदालतबाट फर्केका छन् । तीचाहिँ विवादास्पद भए कि भएनन् ? यही मन्त्रालयअन्र्तगतको सेन्सर बोर्डको सदस्यसमेत फिर्ता भए अदालतबाट । सरकारले छुट गराएको राजस्वलाई नदेखाएर २६ लाख रूपैयाँ खाएको प्रमाणित भएपछि गोरखापत्रको महाप्रबन्धक हटाइयो । उनलाई समेत अदालतले फिर्ता गर्‍यो । झा पनि अदालत गए । उनको पनि स्टे अर्डर थियो । उनी पनि आउँथे । उनले नै ‘सरकारले सहयोग गरेन भने म सक्दिनँ, फिर्ता लिन्छु’ भनें । फिर्ता लिएँ । पछि खुल्दा उनले पनि भरेँ । समितिले उनलाई छानेपछि नियुक्त भए । 

अब यसमा कुरा मिलेको वा विशेष लेनदेन भएको भए जहाँसुकै लगेर बयान गराउनुस्, पोलिग्राफदेखि सबै प्रविधि राखेर छानबिन गर्दा हुन्छ यसमा मेरो चुनौती नै भयो । किनभने, म त्यसखालको मान्छे होइन । सानो खुद्रे कुरामा लेनदेन गरेर मान्छे नियुक्त गर्ने वा बर्खास्त गर्ने गर्दिनँ । म एउटा राजनीतिक दृष्टिकोणमा आधारित मान्छे हुँ । मेरा आफ्नै मानकहरू छन् । सदाचारिता के हो ? दुराचारिता के हो ?, नैतिकता के हो ? खराबी के हो ? म बुझ्छु । यति पाठ त मलाई कसैले पढाउनुपर्दैन । 

झाको नियुक्तिमा बारम्बार विवाद भएको भयै भएपछि उनी आफैँले बुधबार दिउँसो राजीनामा दिएका हुन् । त्यसमा हाम्रो के दबाब ? यदि मैले अनुचित ढंगले करोडौँ खाएको भए उनलाई ‘धेरै विवाद भयो, के गर्ने होला भनेर सोध्न सक्थैं, राजीनामा देऊ भन्न सक्ने हिम्मत, सामथ्र्य नैतिकता राख्थेँ हुँला ? त्यसकारण यसमा मेरो धेरै केही भन्नु छैन । जति आरोप लगाइएका छन् ती असत्य छन् । पार्टीले पनि कार्यदल बनाएर छानबिन गरे हुन्छ । नागरिकको तहमा पनि छानबिन गरे हुन्छ । मेरो चुनौती छ । हल्लाका आधारमा लगाइने तथ्यहीन आरोपहरूमा ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने मेरो मान्यता छ । यति निर्भिक भएर तपाईंका अगाडि यसकारण बोलिरहेको छु कि यो विषयमा म जहाँ उभ्याए पनि स्पष्ट पारिदिन सक्छु । 

अभियोग ५ : टर्रो बोली र रुखो स्वभाव छ । नेता–कार्यकर्ता मात्रै होइन, जनताका कुरासमेत धैर्यतापूर्वक नसुनी ठाडो जवाफ फर्काउनुहुन्छ । पार्टीभित्र आफ्नै गुटका नेता/कार्यकर्ता पनि तपाईंको स्वभावको सार्वजनिक रूपमा आलोचना गर्छन् । अध्यक्ष केपी ओलीसमेत तपाईंको स्वभावमा अभ्यस्त भइसकेकाले गुटको बैठक/भेलामा आफ्नो स्वभाव र शैलीअनुसारको प्रस्तुतिमा छुट दिएका छन् । 

हो, मसँग शाही भद्रता छैन । राजपाठभित्र हुर्केको मान्छे परिनँ । गाउँले परिवेशमा हुर्केर आएको हुँ । संघर्ष गरेर, ढिँडो/रोटी खाएर, मेलापात गरेर आएको मान्छे हुँ । मलाई लागेको के सही हो, के गलत हो निर्भीकतापूर्वक भन्छु । मेरो ब्रह्मले देखेको, भोगेको र अनुभूति गरेको बोल्न म डराउँदिनँ । मान्छेका स्वभावहरू प्राकृतिक हुन् । त्यो कसैले गिफ्ट दिने कुरा होइन । अफ्रिकाको मान्छेको कपाल घुम्रो नै हुन्छ । दक्षिण भारतीयहरू अतिकति कालो वर्णकै हुन्छन् । युरोपियन–अमेरिकनहरू अधिकांश गोरो नै हुन्छन्, हब्सीबाहेक । कोरियनहरू अलि होचा नै हुन्छन् । यो रहनसहन, बसोवास, उठबस, संस्कार, शिक्षादीक्षालगायतका कुराहरू जोडिएका हुन्छन् । म सकेसम्म आफ्ना कुरा स्पष्ट राख्छु । मेरो यो स्वभाव कतिपय मान्छेलाई मन नपर्न सक्छ । मलाई पनि कतिपय मान्छे त्यस्तै लाग्न सक्छ । मान्छेले हात जोडेर कुरा गरेको गरै गर्दा पनि कोही घन्टौँसम्म बोल्दैनन् । कोहीचाहिँ हुने कामलाई हुने र नहुनेलाई नहुने भन्दिन्छन् । त्यसमा के घुमाइराख्नुपर्‍यो ? यदि मलाई कुनै कार्यकर्ताले, जनताले मन पराउँदैनथे भने मैले देशभरिमा दोस्रोे ५५ हजार ५२६ भोट लुटेरै ल्याएको हुँला ? बन्दुक तेर्स्याएर ल्याएको हुँला र ? बुथ क्याप्चर गरेर ल्याएको हुँला र ? म पार्टीको एउटा जिल्लाको तीन–तीनपटक प्रमुख भएँ । के त्यहाँ मेरो कुनै क्षमता प्रदर्शन भएन होला ? 

जहाँसम्म तपाईंले सम्माननीय प्रधानमन्त्रीको कुरा गर्नुभयो, उहाँको स्वभाव मेरो भन्दा नम्र छ । उहाँ तार्किक र बौद्धिक हुनुहुन्छ हामीभन्दा । फेरि शिक्षा कति भनेर उठाउन बेर हुन्न । बुद्धले युनिभर्सिटीमा पढेर डेढ दुई अर्ब मान्छेले बुद्ध धर्म मानेको होइन होला । जनक र सीताले पनि कुनै युनिभर्सिटीमा त पढेका होइनन् होला नि । त्यसैले, प्रधानमन्त्रीको पनि खास क्षमता छ । उहाँले मलाई जे गर्न पनि छुट दिनुहुन्छ भन्ने होइन । उहाँले सचेत पनि गराउनुहुन्छ, सुझाब पनि दिनुहुन्छ, आलोचना पनि गर्नुहुन्छ । र, त्यसमा मिसिएको अर्को चिज माया पनि छ । मैले त्यसको कहीँ दुरूपयोग गरेको छु र ? म मूलभूत रूपमा देश र जनताप्रति तथा प्रधानमन्त्रीप्रति उत्तरदायी छु । उनकै क्याबिनेटको सदस्य हुँ । 

अरूका कुरै सुन्दैन, प्रधानमन्त्रीले जेसुकैमा छुट दिएका छन् भन्ने अतिरन्जनापूर्ण आरोप हुन् । पत्रकार सम्मेलनमा तपाईं पत्रकारहरूका पनि कुरा सुनेरै त जवाफ दिने गरेको छु नि । अब कहिलेकाहीँ फाट्टफुट्ट जवाफ आइहाल्छ, के गर्नुहुन्छ । हो, कतिपय साथीहरूलाई म उनैजस्तो भइदिए हुन्थ्यो भन्ने पनि लाग्दो हो । संसारमा साढे ६ अर्ब जति मान्छे छन्, कसैसित कसैको अनुहार हुबहु मिल्दैन, बोली मिल्दैन, स्वभाव मिल्दैन, चिन्तन मिल्दैन, रुचि मिल्दैन । यो त प्राकृतिक कुरा हो नि । यो साधारण कुरालाई मुद्दा बनाउनु ठीक होइन । गाउँले स्टाइलमा बोलेका कुरा कतिपयलाई अलिकति ठाडो र रुखोजस्तो लाग्छ होला । त्यसलाई म स्विकार्छु । प्रस्टवक्ता, सुखी भवः मेरो मान्यता नै यही हो ।


अभियोग ६ : जिल्लामा अरू सिनियर नेता हुँदाहुँदै पार्टी अध्यक्ष केपी ओलीको विश्वासपात्र भएका कारण ०७० सालको निर्वाचनमा टिकट पाउनुभयो तर, आफ्नै स्वभावका कारण पराजित हुनुभयो । चुनावपछि आफ्नो कमजोेरी महसुस गर्नुभएन, बरु आफ्नै पार्टीका नेताहरूलाई अन्तर्घातको आरोप लगाउँदै सदस्यतासमेत खोस्नुभयो ।

कारबाही गरिएको हो । तर, म जुनियरचाहिँ होइन । जुनियर हुन्थें भने तीन÷तीनपल्ट कसरी पार्टीको अध्यक्ष हुन्थें ? त्यहाँ अवसरको मुख्य मुद्दा थियो । विशिष्ट भूमिका निर्वाह गर्नेबाहेक अरूको हकमा मौकाहरू एक वा दुईपल्ट भन्दा धेरै दिनुहुँदैन भन्ने मेरो मान्यता हो । कसैलाई मैले ०४० सालदेखि काँध गल्ने गरी बोकेको बोक्यै गर्नुपर्ने, अनि कसैले मौका नै नपाउने कुरा पार्टीमा न्यायपूर्ण हुन सक्दैन भन्ने विषय मैले उठाएको हुँ । केपी ओलीको प्रिय पात्रले मात्र होइन, माधव नेपालका प्रिय पात्र–पात्राहरूले पनि देशभरिमा टिकट पाएका छन् । झलनाथ खनाल, वामदेव गौतम वा आफूलाई शक्तिशाली ठान्ने नेताका प्रियहरूले पाएनन् ? सूची राखेर कुरा गरौँ न । म त हकदार नै थिएँ । 

कारबाही त चुनावमा सहयोग नगरेपछि हुने हो नि । अहिले पनि भएको छ । अन्तर्घात, बेइमानी गरेपछि कारबाही हुन्छ । आफूले पाउँदा ठीक, अरूले पाउँदा बेठीक भन्ने पनि पार्टीमा हुन्छ र ? ०७० सालको निर्वाचनको कुरा गर्दा काभ्रेमा कारबाही गरिएकै हो, अन्तर्घात भएकै हो, विपक्षीहरूसँग भेला गरेकै हो । तथ्यहरूले त्यो कुरा पुिष्ट गरेपछि कारबाही गरिएको हो । हाम्रो वर्ग संघर्ष हाम्रा विचारहरूमा र चुनावको मैदानमा प्रकट हुन्छ । चुनावको मैदानमा अरू कसैलाई सहयोग गर्छ भने त्यो वर्गघाती भयो कि भएन ? प्रश्न त्यो हो । त्यसकारण गुटको आँखाले मात्रै हेरेर व्याख्या विश्लेषण गर्ने कुरा खराब हुन्छ । व्यवहार, सिद्दान्त, नैतिकता र आदर्श अरूलाई उपदेश दिन मात्रै होइन, आफ्नो जीवनमा लागू हुँदा पनि स्विकार्न सक्नुपर्छ । मेरो मान्यता यही हो । त्यस्ता तत्वहरूलाई अहिले पनि कोही पुरस्कृत गर्न हिँड्छन् भने हिँडून्, त्यसमा मेरो विमति नै रहन्छ ।


अभियोग ७ : आफ्नो आलोचना गर्नेहरूलाई पद र शक्तिको प्रयोग गरेर तह लगाउनुहुन्छ । सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा अन्तर्वार्ता दिँदा तपाईंको प्रतिकूल प्रतिप्रश्न सोधेको झोकमा अन्तर्वार्ताकारकै जागिर खोसिदिएको आरोप पनि तपाईंमाथि लाग्यो । 

नेपाल टेलिभिजनको आफ्नै मान्यता छ, आफ्नै नियम छ । उसले कार्यक्रमहरू हायर गर्न सक्छ, फायर गर्न सक्छ । नेपाल टेलिभिजनबाट कुनै कर्मचारीलाई निकालिएको होइन । जहाँसम्म मसँगको अन्तर्वार्ताको कुरा छ, त्यो ४५ मिनेटको छ । सवाल–जवाफमा मेरो कुनै आपत्ति छैन । उनले प्रश्न सोधे, मैले जवाफ दिएँ । तर, तीन दिनपछि कपिराइट चोरेर, तीन मिनेटको एउटा पोर्सन मात्र तानेर ज्यादती गर्दै को हिँडेको ? त्यो हेरेको छ कि छैन कसैले ? अहिले तपाईंसँग यति लामो कुरा भयो, तितो पनि भयो होला, टर्रो पनि भयो होला । मीठो पनि भयो होला कहीँ न कहीँ । तितोतीतो, टर्रोटर्रो मात्र हालिदिनुभयो भने तपाईंको त्यो पत्रकारिता भयो र ? अनि त्यसभित्रको एउटा पोर्सन मात्र हालिदिएर बदनामी गराउने काम राम्रो भयो र ? भएन नि । त्यसमा पनि मैले कुनै रियाक्सन जनाएको होइन । भएको के हो भने, त्यो कार्यक्रम साढे ५ बजे चल्थ्यो । कतिले हेर्थे ? अफिस जानेहरू बाटोमा, गृहिणीहरू किचनको तयारीमा हुन्थे । जम्माजम्मी ५१ जना भ्युअर थिए त्यसका । त्यो पनि छाडिदिनुस्, त्यो कुनै रुचिको विषय होइन मलाई । मैले पनि १० जनालाई प्रश्न सोधेरै आएको हो, कहिले रिसाउँछन्, कहिले खुसी हुन्छन् । केही फरक पर्दैन त्यसले । 

तर, विषय के थियो भने, त्यतिखेर वल्र्डकप हुँदै रहेछ । सबैलाई थाहा छ वल्र्डकप ५:४५ मा सुरु हुन्थ्यो । त्यसको लाइभ ५:१५ वा ५:३० तिर सुरु हुन्थ्यो । मैले नेपाल टेलिभिजनका साथीहरूलाई बोलाएर ‘जनताले फुटबल हेर्न नपाउलान्, यत्रो क्रेज छ फुटबलको । घेराउ होला है’ भनेर भनेको हुँ । उहाँहरूले ‘कुनै कार्यक्रम त हटाउनुपर्छ, हामी मिलाउँछौँ’ भनेर गए । त्यो कार्यक्रम दोस्रोपटक ८:३० हुँदो रैछ । त्यतिखेर मान्छेले हेर्थे होलान् । तर, पौने नौ बजे फेरि फुटबलको अर्को लाइभ सुरु हुने रैछ । अनि, मान्छेहरूले कुनै एकजनाको कार्यक्रम हेर्न रुचाउँछन् कि चार वर्षमा एकपटक हुने फुटबलको महाकुम्भ ? नेपाल टेलिभिजनको दायित्व थियो विश्व महामेलाको प्रत्यक्ष प्रसारण गर्ने । आफ्ना दर्शक/स्रोताहरूलाई उनीहरूले खोजेको चिज पस्कने । त्यो कार्यक्रम त टेक्निकल्ली हट्यो नि । त्यो कुनै इष्र्याले हटाइएको हो र ? होइन नि । त्यसकारण यो आरोप सोह्रै आना पूर्वाग्रहपूर्ण र नाँच्न नजान्ने, आँगन टेडो भनेजस्तो भयो । 

अब यहाँ आक्षेप लगाइदिएपछि जे पनि हुन्छ । मन्त्रीले त प्रतिवाद नै गर्न मिल्दैन । कसरी गर्नू ? मुखमा ठेडी ठोकेर बस्नुपर्‍यो मन्त्रीले । मैले ठेडी ठोकेर बस्नुपर्‍यो, उनको होहल्ला बढी भयो । त्यही कुरा मान्छेलाई पत्यारजस्तो लाग्यो । एनटिभीले आफ्नो खास प्रयोजनका निम्ति कुनै कार्यक्रमहरूलाई समायोजन गर्नुथियो, समायोजन गर्दा त्यो कार्यक्रम पनि पर्न गएछ । त्यसमा मेरो के दोष भयो र ? सन्तोष पन्तको कार्यक्रममा हुन्थ्यो नि ‘यो कथाका पात्रहरू काल्पनिक हुन्, कसैसँग मेल खान गएमा संयोग मात्रै हुनेछ ।’ हो, त्यस्तै भएको हो । संयोग हुन गयो त मैले के गर्ने ? अब म पासो बोकेर आत्महत्या गर्न जाऊँ ? मैले के गर्नुपथ्र्यो त्यतिखेर ? एउटा कार्यक्रममा कुनै मन्त्री वा नेताको ट्याऊँट्याऊँ बजाइरहनुपथ्र्यो कि विश्व फुटबल महामेलाको प्रत्यक्ष पसशारण दिनुपथ्र्यो ? यो तपाईंको कठघरा स्तम्भ होइन ? तपाईं नै फैसला गरिदिनुस् न ।

अभियोग ८ : कम्युनिस्ट पार्टीको कार्यकर्ता भएर सामाजिक न्यायको पक्षमा उभिनुपर्नेमा सरकारलाई बुझाएको सम्पत्ति विवरणमा दाइजो आएको विवरण बुझाउनुभयो । त्यसमा प्रश्न गर्दा ‘हाम्रो संस्कारले दिन्छ’ भन्दै प्रतिरक्षासमेत गर्नुभयो ।

पण्डितको घरमा गएपछि बिहानै धोतीपाटा फेरेर गायत्री मन्त्र पढ्छ ॐ.... भनेर । बुद्धकहाँ जानुभयो भने ओम माने पेमे होम भनेर १०८ रुद्राक्ष वा बोधिचित्त लिएर गन्छ । नेपाल बहुभाषिक, बहुधार्मिक देश हो, सबैका आआफ्ना कल्चर छन् । म तपाईंलाई सोध्छु, ‘कम्युनिस्टले बिहे गर्नुहुन्छ कि हुँदैन ?’ यस्ता पनि प्रश्न हुन्छन् र ? कम्युनिस्टले के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने कुरा उच्च नैतिकता र मर्यादामामा भर पर्छ ।

दाइजो आएको विषयमा मैले मन्त्री भएर जवाफ दिनुपथ्र्यो भन्ने थियो र ? त्यो त हिजोको कुरा हो । इतिहासको कुनै कुराप्रति कोही मान्छे आज आएर दण्डित हुनुपर्छ भन्ने छैन । र, दाइजो आएको १७ किलो सुन त होइन होला नि । १७ तोला हो । मेरो आफ्नो पनि केही आर्जन छ । म पनि कामै गरेर बसेको मान्छे हुँ । सुकुम्बासी त म पनि होइन, सानोतिनो केही आफ्नो पनि थियो । यद्यपि, जग्गा–जमिन मेरो अहिले पनि थोरै छ । गाउँको, काठमाडौँको र बनेपाको आदि इत्यादि गरेर मेरो भागमा जम्माजम्मी सात/आठ रोपनी जग्गा छ । तर, लेख्नेले त बनेपामै छ भनेर लेखिदियो नि । बनेपामा हुनु र गाउँमा हुनुमा त सम्पत्तिको धेरै फरक हुन जान्छ नि । अर्को कुरा, दाइजो मैले मागेर ल्याएको हो कि होइन, त्यो पो हेर्नुपर्छ । परिवारकी एक्ली छोरी हुन्, माइतीले सात/आठ तोला सुन दिए । उहाँहरूको बनेपामा त १३/१४ रोपनी जग्गा त अहिले पनि छ । दुईजना दाजुभाइ हुन् । १७ तोला सुन दाइजो दिएँ भनेर लगाइदिए । दिए पनि के भयो र ? 

मेरो बिहे त तीनपल्ट भएको छ, श्रीमतीचाहिँ एउटै हुन् है फेरि । अब तपाईंले ‘तीन पल्ट बिहे भा छ’ भनेर हेडलाइन राखिदिनुभयो भने फेरि बर्बाद होला । हामीले लभ गर्‍यौँ । परिवारबाट अनुमति थिएन । दुईजना मात्रै मन्दिरमा गएर टीका लगाएर बिहे गर्‍यौँ । त्यसको केही हप्तापछि ४५/५० जना पार्टीकै साथीहरू बसेर एउटा समारोह गर्‍यौँ । आज हो नि खास दिन त भनेर त्यहाँ पनि फेरि सिन्दूर हाल्न लगाउनुभयो । त्यो पनि बिहे भो । जेठो छोरा जन्मिसकेपछि ससुरालीमा भित्र्याउने भन्ने हुन्छ नेवार कम्युनिटीमा । बाजागाजा बजाएर धुमधामसहित चण्डेश्वरी मन्दिरमा बिहे भयो । तपाईंले भन्याजस्तो अलिअलि दाइजोसाइजो पनि दिए । के ठूलो मुद्दा भयो र त्यो ? मैले लुटेर ल्याएको होइन, तस्करी ग¥या नि होइन । अब ज्याकेट किन लाएको भन्ने सोधेर नि त भएन नि । त्यसको जवाफ त एउटै हुन्छ, ‘नांगै हिँड्नु त ?’

अभियोग ९ : मन्त्रालयले सुधार गर्नुपर्ने थुप्रै काममा भन्दा ठूला आयोजना र ठेक्कापट्टामा तपाईंको बढी ध्यान छ । फोरजीको ठेक्का दिने उपयुक्त व्यक्ति, कम्पनीको खोजीमा हुनुहुन्छ । तपाईं नेतृत्वमा आएपछि नेपाल टेलिकमको नाफाचाहिँ अघिल्लो वर्षको तुलनामा घटेको छ । 

हिसाब सुरु हुन्छ साउन १ बाट । चैत २ गते म राज्यमन्त्री नियुक्त भएँ । दुई महिनाजति त मलाई मन्त्रालय बुझ्नै लाग्यो । जेठ त सक्यो, हिसाब त वर्षभरिको आउँछ । आउने वर्ष हेर्नू, अहिले यसबीचकै हेर्नू । अस्ति भदौयता सुधार के भएको छ त्यो पनि हेर्नू । द्याट इज फ्याक्ट । विगतको यही वर्षको तुलनामा हामीले ५० करोड नाफा गरेका छौँ, सुधार छैन र ? म आउँदा टू जी र थ्री जीका सात सयजति टावर आएकै थिएनन्, कहाँ हुन् थाहै थिएनन् । अहिले सबै टावर आइपुगेका छन् र धमाधम इन्स्टलेसन भइरहेका छन् । यो पनि कामै हो । यसको पनि इफेक्ट देखिन्छ नि । त्यसैगरी, अप्टिकल फाइबरको पनि काम हुन सकेको थिएन । अब सबै कुरा सिद्धियो, सायद हामी माघमा १ नं., २ नं. र ३ नं. प्रदेशमा यसको शिलान्यास गर्छौँ । 

काम गर्न ‘छु मन्तरकी वाचा’ भनेजस्तो त हुँदैन नि । मैले पनि बुझ्नुपर्‍यो । म टेक्निकल पर्सनालिटी त होइन । आइटी इन्जिनियर पनि होइन, टेलिकम्युनिकेसनको इन्जिनियर पनि होइन । बरु, त्यही पत्रकार हुँ रुचाए नि नरुचाए नि । राम्रो हुनुपर्छ भन्ने मलाई थाहा थियो । र, साँचो हो, चार अर्ब रूपैयाँ घाटा देखियो । म नेतृत्वमा आएपछि अहिले के हुँदै छ त्यो हेर्नुपर्‍यो । र, अहिले फोर जी परियोजनाको काम । मैले उल्लेख गरिसकेँ, चैतमा हामी आइयो तर त्यतिखेर नै यो अख्तियारमा थियो । अख्तियारले असोजमा बल्ल के निर्णय लिनुपर्ने हो लिनू भनेर पठायो । अब अहिले त्यो टेन्डरको इभ्यालुएसन सकिएको छ । अहिले अख्तियारले ६ वटा निर्देशन दिएको छ । त्यो निर्देशनमा टेकेर देशको हितमा, टेलिकमको हितमा, नागरिकको हितमा न्यूनतम १६ महिनादेखि अधिकतम् ३३ महिनासम्ममा सक्ने गरी प्रस्ताव तयार भएको रहेछ । मेरो अडान यति हो कि त्यो परियोजना १२ महिनामा सक्नुपर्छ ताकि झन्डै १२ महिना भएको ढिलाइ १२ महिना छिटो काम गरेर पूर्ति गर्न सकियोस् । त्यसले हाम्रो बिजनेस बढ्छ, सेक्टर इस्यु एक्स्पान्सन हुन्छ । 

अर्को पनि म बताऊँ, झन्डै दुई सय ५० करोड रूपैयाँ यत्तिकै सम्झौता संशोधन गरेर तिर्ने तयारी भएको रहेछ । त्यो मैले रोकेँ, कसले भनिदिन्छ हजुर यो कुरा । २५० करोडले कतिवटा स्कुल बन्छ ? एटलिस्ट २५० वटा साधारण स्कुल त बन्छन् नि । अर्को आइपिसिडिएम भन्ने परियोजना रहेछ, त्यसको पनि अहिलेसम्म परियोजना सकिएको रहेनछ । यी सबै कुरालाई अहिले धमाधम मैले चैत्रभित्र पुराना परियोजना सबै सक्ने गरी त्यसको एक सुका अतिरिक्त नलाग्ने गरी र फोर जी परियोजना पनि सम्झौता भएको मितिले एक वर्षभित्र सकिने गरी काम सुरु गर्नका निम्ति टेन्डर प्राप्त गरेका कम्पनीहरूसित छलफल गरिरहेको छु । र, उनीहरू त्यसमा सहमत छन् । यदि २५० करोडमा मैले आँखा चिम्लिएको भए मलाई राहतै हुन्थ्यो होला नि । कसलाई थाहा हुन्थ्यो र आकाशको बिजनेस । कसैले देख्दैन, ढुंगो बोल्दैन, जनता देख्दैन । अनि कसै न कसैले त हस्तक्षेप गर्नुपर्‍यो नि । त्यो हस्तक्षेप गरेर मैले के अपराध गरेँ ? राज्यको झन्डै दुई सय ८२ करोड पैसा जोगाइदिएको छु । नत्र भने अरू दुई सय ८२ करोड रूपैयाँ नेपाल टेलिकमको घाटा हुन्थ्यो ।

अभियोग १० : मन्त्रीहरूलाई सरकारले आवासको व्यवस्था गरेको छ । आवासमा ठाउँ नभए भाडाको घरको पनि व्यवस्था गर्छ । तर, काठमाडौंमा आफ्नै घर हुँदाहुँदै तपाईं  प्रधानमन्त्री ओलीको राजनीतिक प्रभाव देखाउन उनको बालकोटस्थित निजी निवासमा बस्नुभएको छ ।

मैले सम्माननीय प्रधानमन्त्री केपी ओलीसित कुनै नयाँ चिनारी दिएर, राजनीतिक प्रभाव दिएर वा उहाँलाई प्रभावमा पारेर, पाखुरामा झुन्डिएर मलाई यही बस्न दिनुपर्‍यो भनेर गएको होइन । सत्य कुरा बताइदिन्छु, म डेरा खोज्दै हिँडेको थिएँ । कहीँ पनि डेरा पाइएन, खोज्दै जाँदा बालकोटतिर पुगियो । कुन घर खाली छ भन्दै गएको, प्रधानमन्त्रीकै घर रहेछ । अब त्यस्तै पर्न गयो । त्यसपछि मैले उहाँलाई भनेँ, ‘घर त खाली रैछ ।’ उहाँले ‘भाडा तिर्नुपर्दैन गएर बस, देशलाई फाइदै हुन्छ’ भन्नुभयो । म गएर बसेँ । यसमा मैले के प्रभाव देखाएँ र ? उहाँले दिनुभयो त देशकै ४० हजार रूपैयाँ महिनाको बच्यो । उहाँहरू हिँडिसकेपछि कहीँ पर्दा थिएन, कहीँ केही थिएन । ट्यांकी पनि पानी नझर्ने भएको थियो । त्यसका निम्ति मर्मत सम्हार भनेर दुइटा लाख रूपैयाँ लिएको छु । अहिले चिसो छ, नुहाउन म तलको दुईकोठे घरमा आउनुपर्छ । किनभने, त्यहाँ तातोपानी आउने मेसिन नै बिग्रिएको रहेछ । त्यहाँ बस्नुका पनि मेरा आफ्नै पीडा छन् । अरू उता बस्छन्, दिनहुँ भेटघाट गर्छन् । छलफल गर्छन् । म छुट्टै एउटा टापुमा बसेजस्तो भएको छ । 

देशको पैसा बच्यो, मूल प्रश्न त्यो हो । र, मैले उहाँलाई कुनै प्रभावमा पार्न, साफुल्य हुन वा नजिक पर्न वा उहाँले केही गर्नका निम्ति मलाई आफ्नो घरमा बस्न अनुचित खालको आरोप हो । इष्र्या गर्नेहरूलाई त बसको पछाडि लेखेको देख्छु ‘जल्नेको मन जलिरहन्छ, ३५०३९९ चलिरहन्छ ।’ त्यस्तै हो । 

अर्को कुरा मेरो घरको । मेरो घर गएर हेर्न अनुरोध गर्छु सबै मिडियालाई । बरु कहिले जाने ? कालो चिया म आफैं बनाएर साथीहरूलाई खुवाउन तयार छु । कोही पिँढीँमा बसौँला, कोही आँगनमा बसौँला । कोही भित्र कोठामा बसौँला । कोही बेड रुममा बसौँला । कोही किचेनमै बसौँला । ७५० स्क्वायर फिटको घर छ मेरो एक तलाको । दुइटा बेडरुम छन्, एउटा १५/१६ जनासम्मको बैठक गर्ने ठाउँ छ । अब गार्ड भन्ने पनि हुँदो रहेछ मन्त्रीको, पिए भन्ने पनि हुँदा रहेछन् । घरमा एउटा मात्रै ट्वाइलेट छ । त्यहाँ त एरेन्ज हुन सक्ने कुरै भएन । म त्यहाँ अट्न सकिनँ, अध्यक्षको विशाल आँगन, कसैले बाल्कोट दरबार भन्छन् । त्यही दरबारमा म खुसी भएको छु, रमाएको छु ।

अभियोग ११ : सातौँ महाधिवेशनमा जिल्लामा प्रतिनिधिमै पराजित हुनुभो, नवौँमा महाधिवेशनमा केन्द्रीय सदस्य हार्नुभो । कार्यकर्ताबाट अनुमोदन हुन नसके पनि तपाईंलाई अहिले केपी ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । एमालेभित्रै एकथरी मान्छेहरू भन्छन्– गोकुल बाँस्कोटा जनता र कार्यकर्ताले रुचाएर होइन, केपी ओलीको छत्रछायाले यो उचाइमा पुगेका हुन् ।

त्यस्तो आरोप लगाउनेहरूलाई मेरो जवाफ छ, म पाँचौँ महाधिवेशनको प्रतिनिधि हुँ । काभ्रे जिल्ला नै त्यस्तो जिल्ला हो, जहाँ भोटिङबाट प्रतिनिधि छानिएका थिए । त्यतिखेर गिनेचुनेका मै हुँ भन्ने नेतासित प्रतिस्पर्धा गरेर दोस्रो नम्बरको ८५ भोट ल्याउँदै प्रतिनिधि भएको हुँ । छैटौँ महाधिवेशनमा म पत्रकारहरूको एउटा फ्याक्सनबाट काठमाडौँबाट प्रतिनिधि भएँ । सातौँ महाधिवेशनमा म हारेको हुँ । आठौँ महाधिवेशनमा काभ्रेका मसहित २३ जना प्रतिनिधिमध्ये २० जनाले केपी ओली टिमलाई मतदान गरेको हो । र, त्यतिखेर म नै काभ्रे जिल्लाको अध्यक्ष थिएँ । नवौँ महाधिवेशनमा करिब ३५ जना काभ्रेका प्रतिनिधि थिए । ११ सय मत खस्दा म नौ सय मत ल्याएर प्रतिनिधिमा निर्वाचित भएँ । अर्को यो पनि बताऊँ, म हरेकपटक चुनाव नै लडेर जिल्ला अध्यक्ष जितेको हुँ । 

गलत तथ्य पस्केर कसैलाई मजा लिनु छ भने जिन्दगीमा अरू धेरै मजा लिएर मुख मिठ्याइरहनुस् । मेरो भन्नु केही छैन । किनभने, म गतिशील मान्छे हुँ र तल साथीहरूसित निरन्तर सम्पर्कमा हुन्छु । त्यो मेरो स्वभाव हो, कुनै सत्ताको प्रयोग पनि छैन, शक्तिको प्रयोग पनि छैन । तीन वर्ष म कमिटीविहीन हुँदा पनि स्थानीय निर्वाचनमा सर्वाधिक गतिशील ढंगले मैले काम गरेको मान्छे हुँ । जिल्लामा गएर सर्भे गरे हुन्छ । केन्द्रीय सदस्यमा आफ्नो भोट आफैंले गनेर जित्ने मान्छेभित्र म पर्दिनँ । आफू उम्मेदवार भए पनि म पदाधिकारीको मत काउन्टिङमा बसेँ । मेरोमा मत काउन्ट भइरहेकामा म फर्केर पनि हेर्न गइनँ, जहाँ मेरा प्रतिस्पर्धीहरू आफैं भोट गन्दै थिए, रेजा लाउँदै थिए । अहिले नक्कली कुरा गर्ने ? तथ्यमा टेकेर कुरा गर्नुपर्‍यो नि । र, मेरो टिममा सायद कसैले पनि ११ सय भोट कटाएनन् । म नै हुँ ११ सयभन्दा बढी भोट ल्याएर पनि हार्ने । इभन अध्यक्षको पनि १०५८ भोट आएको हो ।

केही मान्छेलाई योचाहीँ मन्त्री बन्न हुन्थेन, केन्द्रीय सदस्य बन्न हुन्थेन लागेको हुन सक्छ । त्यसो भए म उहाँहरूलाई सोध्न चाहन्छु, म कहाँ हुनुपथ्र्यो त ? भुइँमा वा अर्को पार्टीमा ? म कसैको भाग खोस्न गएको होइन नि । 

प्रतिकृया दिनुहोस