आरती स्ट्रिप्सले सुरु गर्‍यो फलामे डन्डी उत्पादन

मोरङमा स्थापना भएको आरती स्ट्रिप्सले फलामे डन्डी उत्पादन सुरु गरेको छ । यसअघि जस्तापाता उत्पादन गरिरहेको उद्योगले ३ अर्ब रुपैयाँमा नयाँ डन्डी उद्योग स्थापना गरेको बताएको छ ।

उद्योगबाट उत्पादित डन्डीको औपचारिक बिक्रीवितरण सुरु भएको कम्पनीले जनाएको छ । उद्योगका अध्यक्ष सञ्जीव शर्माका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डी उत्पादन हुन्छ । उद्योगले आरती पर्फेक्ट र आरती टाइगर ब्रान्डमा डन्डी उत्पादन सुरु गरेको उनले जानकारी दिए ।

उद्योगले युरोपेली प्रविधिबाट डन्डी उत्पादन गर्दै आएको शर्माको भनाइ छ । इटालीको एमएस ड्यानेलिईको मेसिनरी प्रयोग गरिएको र भूकम्पप्रतिरोधी डन्डी रहेको उनले दाबी गरे । छडको उत्पादनदेखि बाइन्डिङसम्म अटोमेटिक मेसिनबाट हुने र चुम्बकीय पद्धतिको क्रेनबाट लोड–अनलोड गरिने उनले बताए ।

उद्योगबाट उत्पादित डन्डी ५५० लचकपन रहेको र थोत्रा डन्डी रिसाइकल गरेर नबनाइएको शर्माको दाबी छ । 

प्रतिकृया दिनुहोस