थ्री स्टार तेस्रो र आर्मी चौथो

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो स्थानमा रहेका छन् । आइतबार आ–आफ्नो अन्तिम खेलमा प्रतिद्वन्द्वीहरूलाई हराउँदै थ्री स्टार र आर्मीले लिग सकाएका छन् ।

थ्री स्टारले हिमालयन शेर्पालाई २–० ले हरायो । आर्मीले मच्छिन्द्र क्लबलाई ३–० ले पाखा लगायो । थ्री स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । आर्मीका लागि कप्तान भरत खवासले २ तथा र टंक बस्नेतले १ गोल ठोके । 

१ अंकको दूरी

लिगको १३आैँ तथा अन्तिम खेलमा आर्मी र थ्री स्टार चर्को दबाबमा थिए । थ्री स्टारले जित्दा सीधै तेस्रो स्थान रक्षा हुने थियो । थ्री स्टार पराजित हुँदा आर्मीले जित्दा तेस्रो स्थानमा उक्लने थियो । तर, दुवै क्लबले जित निकाल्दा स्थान परिवर्तन हुने थिएन ।

थ्री स्टार र आर्मीले तेस्रो स्थानमा रहँदै लिग समाप्त पार्ने लक्ष्यका साथ प्रतिस्पर्धा गरे । थ्री स्टारले १३ खेलबाट २६ अंक बटुल्यो । एक खेल कम खेलेको लिग च्याम्पियन मनाङ मस्र्याङ्दीसँग थ्री स्टार १२ अंकले पछाडि पर्‍यो ।

थ्री स्टारले चौथो स्थानमा रहेको आर्मीविरुद्ध झिनो १ अंकको मात्र अग्रता लिएको छ । आर्मीले १३ खेलमा २५ अंक हात पार्‍यो । 

दुवै हाफमा गोल

थ्री स्टार हिमालयनविरुद्ध दुवै हाफमा गोल गर्न सफल भयो । खेलको २८औँ मिनेटमा बुद्धले थ्री स्टारलाई १–० को अग्रता दिलाए । खेलको ८९औँ मिनेटमा रञ्जनले थ्री स्टारलाई २–० को जित दिलाए । लिगमा रञ्जनले व्यक्तिगत ६ गोल गरेका छन् ।

लिगको सर्वाधिक गोलकर्तामा समान ७ गोलका साथ तीन खेलाडी छन् । मनाङका अफिज ओलावा, थ्री स्टारका रञ्जित धिमाल तथा आर्मीका भरत खवासले समान ७ गोल गरेका छन् । 

भरतका २ गोल

लिगको अन्तिम खेलमा जित निकालेसँगै आर्मीले चौथो स्थानमा चित्त बुझायो । हल्चोक मैदनमा आर्मीले २८औँ मिनेटमा १–० को अग्रता थियो । आर्मीका लागि अग्रता गोल टंकले गरेका थिए ।

दोस्रो हाफमा कप्तान भरत चम्कँदा आर्मीको जित पक्का भयो । मच्छिन्द्रविरुद्ध भरतले खेलको ६२औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले अघि बढ्यो । खेलको ७४औँ मिनेटमा भरतले व्यक्तिगत दोस्रो गोल गरे । यस गोलसँगै आर्मीले खेलमा ३–० को अग्रता लियो ।

यता हिमालयन १७ अंकका साथ सातौँ स्थानमा रह्यो । मच्छिन्द्र क्लब ७ अंकका साथ १३आैँ स्थानमा सीमित भयो । मच्छिन्द्र रेलिगेसन जोनमा रहे पनि अखिल नेपाल फुटबल संघले यसपटकको लिगमा रेलिगेसनको व्यवस्था गरेको छैन । 

प्रतिकृया दिनुहोस