नेपाली र भारतीय कम्पनीले पाए रंगशाला निर्माणको जिम्मा

१ अर्ब २० करोड लागतमा पोखरामा १६ हजार ५ सय सिट क्षमताको रंगशाला बन्ने

पोखरामा १६ हजार ५ सय सिट क्षमताको फुटबल रंगशाला बन्ने भएको छ । रंगशाला निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा कम्पनी र नेपालको एमए कन्स्ट्रक्सन काठमाडौंले पाएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला निर्माणका लागि २४ जेठमा अनलाइनमार्फत ग्लोब्ल टेन्डर आह्वान गरेको थियो ।

चीनको सिएमई कम्पनी, नेपालको सिएबी कन्स्ट्रक्सन, भारतको ग्रेट स्पोर्टस् र नेपालकै एमए कन्स्ट्रक्सनले ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेस गरेका थिए । 

- सम्झौता पूरा

प्रस्ताव पेस गरेका दुईमध्ये भारतको इन्फ्रा र एमए कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको परिषद्का प्रशासन विभाग प्रमुख वासुदेव आचार्यले नयाँ पत्रिकालाई जानकारी दिएका छन् ।

प्रस्ताव राख्ने कम्पनीले पेस गरेको प्राविधिक र अर्थिक प्रस्ताव अध्ययनसँगै निर्माणको जिम्मा दिइएको र शुक्रबार सम्झौतासमेत भइसकेको आचार्यले बताए ।

सरकारले ३ अर्बभन्दा कमको आयोजनाका लागि विदेशी कम्पनीले प्रस्ताव पेस गर्दा अनिवार्य एउटा नेपाली कम्पनीसँग जोइन्ट भेन्चर हुनुपर्ने नियम बनाएको छ । यससँगै दुवैले नेपाली कम्पनीसँगको सहकार्यमा प्रस्ताव पेस गरेका हुन् । 

- १६ हजार ५ सय सिट क्षमता

परिषद्ले प्रस्ताव माग्दा रंगशालाको डिजाइन २० हजार सिट क्षमताको हुने भनिएको थियो । अहिले १६ हजार ५ सय सिट क्षमताको निर्माण गर्ने गरी सम्झौता गरिएको परिषद्का पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले जानकारी दिए ।

उनका अनुसार रंगशालाको डिजाइन र निर्माणस्थल हेरी १० प्रतिशत सिट तलमाथि हुन सक्ने गरी सम्झौता भएको बताए । सम्झौताअनुसार रंगशालामा ८ लेनको ४ सय मिटर लामो ट्र्याक एन्ड फिल्ड हुनुपर्नेछ ।

यसैगरी, शौचालाय, खेलाडी आराम कक्ष, भिआइपी कक्ष, मिडिया कक्ष, स्टोर रुमलगायत समावेश हुनुपर्नेछ । यसैगरी आधुनिक फलोर्ड लाइटसहितको स्कोर बोर्ड, डिस्प्ले बोर्डलगाययत पूर्वाधार समावेश हुनुपर्ने उपाध्यक्षले बताए ।

- १ अर्ब २० करोड लाग्ने

रंगशाला निर्माणका लागि परिषद्ले १ अर्ब २३ करोडको अनुमानित लागत तयार गरेको भए पनि १ अर्ब २० करोडमा ठेक्का दिइएको प्रशासन प्रमुख आचार्यले बताए । ‘प्रस्ताव पेस गरेका दुईमध्ये अर्को कम्पनीको प्राविधिक प्रस्ताव फेल भएको थियो,’ उनले भने, ‘सो कम्पनीको अर्थिक प्रस्तावमा १ करोड ४३ लाख पेस गरिएको थियो ।’ 

- ६ महिनामा निर्माण सम्पन्न गर्ने

निर्माण कम्पनीले जिम्मा लिएको ६ महिनाभित्र काम सम्पन्न गरी राखेपलाई हस्तान्तरण गर्नुपर्नेछ । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गदै रंगशाला निर्माण गर्न लागिएको हो । 

कम्पनीका प्रतिनिधिहरू पोखरा आइसकेको र उनीहरूले सोमबार स्थलगत अध्ययन गरेपछि निर्माणको काम सुरु गर्ने जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

- दोस्रोपटक टेन्डर

रंगशाला निर्माणका लागि कात्तिक ०७४ मा परिषद्ले पहिलोपटक टेन्डर आह्वान गरेको थियो । त्यसवेला ६ कम्पनीले प्रस्ताव पेस गरेका थिए । उनीहरूमध्ये एक मात्र कम्पनी योग्य देखिएपछि सबै प्रक्रिया रद्द भएको थियो । यो दोस्रोपटकको टेन्डर हो ।  

अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरालाई खेलकुद पर्यटनसँग जोड्नका लागि पनि अन्तर्राष्ट्रियस्तरको रंगशाला आवश्यक रहेको बताए । 

प्रतिकृया दिनुहोस