फिदा हुसेनको हत्याका चार अभियुक्त पक्राउ 

दुहवी नगरपालिका ९ छातावेलीका व्यावसायी फिदा हुसेनको गोली हानी हत्या गर्ने समूहका चार अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

रिसइवी र आर्थिक लेनदेन नमिलेपछि फिदाको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीले हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विसम्बर यादव, त्यस्तै छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गरी सार्वजनिक गरिएको छ। अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने क्रममा रहेको छ।

प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोकासहितको एक थान, गोली २ राउन्ड र चक्कु एकथान बरामद गरेको छ। घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि हतियार खनेर लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए।

प्रभात भ्रमणका बेला फिदालाई मंसिर ५ गते विहान सात बजे जयबाबा इटाभट्टा जाने सुनसरी मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो। मोटरसाइकलमा आएका एक व्यक्तिले गोली प्रहार गरी भागेका थिए। फिदाको घटनास्थलमै मृत्यु भएको थियो। हत्याका अभियुक्त पक्राउ गर्नु पर्ने र फिदालाई सहिद घोषणा गर्नु पर्ने माग राखी उनको शव नै सडकमा राखेर दुहवीवासीले आन्दोलन गरेका थिए।

स्रोत - कान्तिपुर 

प्रतिकृया दिनुहोस